रसुवागढी बाढी : क्षतिग्रस्त स्थलको भग्नावशेषको व्यवस्थापन कार्य सुरु

काठमाडौं ।  रसुवा भन्सार कार्यालय नजिक निमार्णाधीन सुख्खा बन्दरगाहमा फसेका विद्युतीय सवारीसाधन र केही कन्टेनरहरु सुरक्षित स्थानमा सारिन थालिएको छ । बाढीले क्षति पुर्‍याउन नसकेका विद्युतीय सवारी साधन र केहि कन्टेनरहरुमा रहेको मालसामानलाई लोडर तथा जेसिबी प्रयोग गरी सुरक्षित स्थानमा सारिएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यार्ड क्षेत्र वरपर थुप्रिएको करिब सय मिटर बालुवा हटाइएको र खोज तथा उद्धार कार्य अझै तीव्र बनाइएको जनाइएको छ । बाढीका कारण अवरुद्ध भएको सञ्चार र विद्युत सेवा सुचारु भएको छ । स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड मर्मतका लागि सडक विभाग, विभिन्न जलविद्युत आयोजनाहरू र स्थानीय तहबीच समन्वय गरी हेभी इक्युपमेन्ट प्रयोग गरेर सडक पुनःनिर्माणको कार्य तीव्र पारिएको छ ।

बाढीपछि चीनतर्फको सीमासम्म आईपुगी अलपत्र परेका ९१ जना नेपाली नागरिकलाई चिनियाँ प्रशासनले केरुङमा सुरक्षित रूपमा राखेको जनाएको छ । उनीहरूलाई खानपिन, आवास, औषधी उपचारलगायत आवश्यक सेवा प्रदान गरिएको र दुवै देशका प्रशासनबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।

भोटेकोशी तथा त्रिशूली नदी किनारमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली परिचालित गरिएको छ । चीनको लेन्दे खोलाबाट असार २४ गते बिहान करिब ३ बजे आएको भीषण बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्‍याए पछि जिल्ला प्रशासन कार्यालय रसुवाले असार २६ गते साँझ सार्वजनिक गरेको पछिल्लो प्रेस विज्ञप्तिमा उद्धार, राहत तथा पूर्वाधार पुनःस्थापनाको कार्य तीव्र गतिमा भइरहेको जानकारी गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर