एअरपोर्ट जाँदे हुनुहुन्छ ? यस्तो छ है नयाँ व्यवस्था

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, व्यवस्थापन र सञ्चालनलाई थप सहज बनाउन अब यात्रु तथा आगन्तुकहरूका लागि नयाँ व्यवस्थाहरू लागू गरिएको छ ।  अध्यागमन विभागले मंगलबार एक सूचना जारी गर्दै  विमानस्थलको अध्यागमन क्षेत्र प्रवेश गर्दा खादा, माला, फूल, उपहारका सामग्री आदि लिएर जान नपाइने भएको छ ।

यस्ता वस्तुहरूले सुरक्षाका दृष्टिले शंका उत्पन्न गर्न सक्ने भएकाले ति सामग्रीको प्रयोग, प्रदर्शन वा उपहारस्वरूप आदानप्रदान निषेध गरिएको हो। साथै कुनै विशेष संस्कृति झल्किने पहिरन, झिलीमिली लुगा, टोपी, ब्याज, कुनै पहिचानयुक्त वस्तु लगाएर विमानस्थल भित्र प्रवेश गर्न पाइने छैन । सूचनामा भनिएको छ, ‘यस किसिमको भेषभूषाले अवाञ्छित ध्यान तानिन सक्ने, उडान सुरक्षामा असर पर्न सक्ने र अन्य यात्रु वा सुरक्षाकर्मीमा भ्रम सिर्जना हुने भएकाले यस्ता पहिरन प्रयोग नगर्न सूचित गरिन्छ ।’

विभागले सूचनामार्फत अध्यागमन प्रक्रियालाई अझ प्रभावकारी सुरक्षित र अन्तर्राष्ट्रिय मान्यताअनुसार बनाउनका लागि सबै यात्रु, ट्राभल एजेन्सी र एअरलाइन्स कम्पनीहरूलाई यसबारे जानकारी जारी गरेसँगै पूर्ण सहकार्यका लागि अनुरोधसमेत गरेको छ ।

विभिन्न मेनपावर र व्यक्तिले भिजिट भिसामा नेपालीलाई विदेश लैजाने गरेको आरोप लाग्ने गरेको छ । जसका लागि उनीहरुले एकै खालको पोशाक वा संकेत चिह्न प्रयोग गर्ने गरेका छन् । त्यसलाई रोक्न अध्यागमनले यस्तो व्यवस्था गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर