हेलिकप्टर र स्थलमार्गमार्फत सयौँको उद्धार, २० अझै बेपत्ता

काठमाडौं ।  हालै रसुवागढीमा आएको भीषण बाढीका कारण उच्च जोखिममा रहेका नागरिकहरूको उद्धार कार्य जारी छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत ३० जनालाई र सुरक्षाकर्मीहरूको टोलीद्वारा स्थलमार्गबाट थप २७ जनालाई सुरक्षित स्थानमा लगिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बिपद्‌पूर्ण बाढीका कारण जोखिममा परेका नागरिकहरूको उद्धार कार्यलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा विभिन्न निजी हेलिकप्टर कम्पनीहरूको सहकार्यमा तीव्रता दिइएको छ। उद्धार कार्य अन्तर्गत असार २४ र २५ गते गरी दुई दिनमा जम्मा १६५ जनाको उद्धार गरिएको छ।

असार २४ गते विभिन्न निजी हेलिकप्टरमार्फत ९ जना स्वदेशी र १२७ जना विदेशी गरी कुल १३६ जनाको सफल उद्धार गरिएको थियो । त्यसैगरी असार २५ गते थप २९ जना (२५ स्वदेशी र ४ विदेशी) लाई हेलिकप्टरको सहायताले सुरक्षित स्थानमा लगिएको छ ।

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले अस्थायी पदमार्ग निर्माण गर्दै भोटेकोशी आसपासका उच्च जोखिमयुक्त स्थानबाट टिमुरे–स्याफ्रुवेशी खण्डमा ४८५ जना (महिला १२६, पुरुष ३२९, बालबालिका २५ र सञ्चारकर्मी ५) लाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

यस्तै, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा रसुवा भन्सार यार्डमा फसेका दुई कन्टेनर र एउटा इभी गाडीलाई पनि सुरक्षित स्थानमा सारिएको छ। हालसम्म २० जना सम्पर्कविहीन छन्। तीमध्ये नेपाल प्रहरीका लालबहादुर श्रेष्ठको शव सनाखत भई आफन्तले बुझिसकेका छन् । अन्य हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

सम्पर्कविहीन व्यक्तिहरूमा नेपाल प्रहरीका मुना ठाकुर, लोकेन्द्र बोहरा, जिपन चौधरी तथा बर्दियाका सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु लगायत रहेका छन्। रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा फसेका एक जना चिनियाँ नागरिकसहित १५ जना नेपाली पुरुष र दुई जना महिलालाई सुरक्षाकर्मीहरूले सफलतापूर्वक स्थलमार्गमार्फत उद्धार गरेका छन्।

बाढीपछिको उद्धार तथा राहत कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी कूल ६८२ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। ती सबै सुरक्षाकर्मीहरू जोखिमपूर्ण भूभागमा खटिइ उद्धार र राहत वितरणमा संलग्न छन्।

उद्धारको क्रममा गोसाइँकुण्ड गाउँपालिका–३, लिङलिङमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (सप्रसह) विशाल थापा ड्युटीका क्रममा घाइते भएका छन्। भिरालो बाटोमा खस्दा टाउको र घुँडामा चोट लागेका थापालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ।

बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गतका रसुवागढी, टिमुरे र घट्टेखोला क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने टेलिफोन सेवा पनि ठप्प भएको छ। बाटो र पुल बगाइएकाले रसुवागढी नाकासम्म तत्काल पुग्न सकिने अवस्था छैन।

जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार बाढीपछि बेपत्ता भएका व्यक्तिहरुको खोजी जारी छ। एक शव चितवनमा फेला परेसँगै त्रिशूली र नारायणी नदी किनार हुँदै अन्य जिल्लाहरूमा खोजी कार्य तीव्र पारिएको छ। सरकारी संयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्धार कार्य थप प्रभावकारी बनाउने प्रयास भइरहेको शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर