भोटेकोशी नदीमा बाढी : १९ जना अझै बेपत्ता

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिक गरी कुल १९ जना बेपत्ता भएका गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा जानकारी दिएका छन्।

गृहमन्त्री लेखकका अनुसार, बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनाका ७५ जना, नेपाल प्रहरीका ३६८ जना र सशस्त्र प्रहरी बलका २३९ जना गरी कुल ६८२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा नाम, थर, वतन नखुलेका दुई पुरुषको शव फेला परेको छ। रसुवा, धादिङ र नुवाकोटमा गरी तीनवटा शरीरका अंगहरू पनि फेला परेका छन्।

नुवाकोटको विदुर नगरपालिका–३, शिरखाली नयाँ पुलस्थित त्रिशूली नदीको किनारमा दाहिने खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको छ। त्यस्तै, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ४०/४५ वर्षका एक पुरुषको शव फेला परेको छ। भरतपुर नगरपालिका–२९, पन्ध्रकिलोस्थित त्रिशूली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ।

हालसम्म हवाई उद्धारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्धार गरिएको गृहमन्त्रीले जानकारी दिए। नुवाकोटको विदुर नगरपालिकाको इन्द्रेणीघाटमा किस्पाङ–४ घर भइ हाल विदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठूलो बाढी आई खोलाको बीचमा फसेका थिए। सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक उनीहरू दुवैलाई हवाई उद्धारमार्फत् सुरक्षित स्थानमा पुर्‍याउन सफल भएका थिए।

स्थलगत उद्धारमार्फत् रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका २ जना प्रहरी र ७ जना स्थानीय गरी ९ जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको छ। सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो।

भौतिक क्षति र अवरुद्ध सडक: बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खण्डमा बाढीका कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो पनि अवरुद्ध भएको छ। मानिस र सवारी साधनको आवतजावत बन्द भएको अवस्था छ।

सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याम र त्रिशूली ३ बगाएको तथा अन्य थप क्षतिको विवरण संकलन भइरहेको गृहमन्त्री लेखकले बताए।

अकल्पनीय विपद्को सूचना प्राप्त भएलगत्तै आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशन दिँदै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशील रहेको गृहमन्त्री लेखकले बताए। मन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय प्रशासनलाई सक्रियतापूर्वक क्रियाशील गराइएको उनको भनाइ छ।

घटनापश्चात् तत्काल विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, केन्द्रीय कमाण्ड पोष्ट र मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कक्षलाई पूर्ण क्रियाशील गराइएको थियो। गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको बताए। उक्त स्थलगत अवलोकनपश्चात् प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्धार तथा प्रतिकार्यसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू भएका थिए।

परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ।

उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानूनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको छ। भोटेकोशी बाढीका कारण बेपत्ता र मृत्यु भएकाहरूको खोज तथा उद्धारमा अनवरत रूपमा खटिएका सबै सुरक्षाकर्मी लगायत सम्पूर्ण खोज तथा उद्धारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिने निर्णय गरिएको छ।

बैठकले मित्रराष्ट्र चीनसँग समन्वय गरी भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाई पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मन्त्री लेखकले जानकारी दिए।

भन्सार पूर्वाधार, जलविद्युत् आयोजना, निजी आवासहरू र अन्य पूर्वाधारहरूमा भएको क्षतिको विस्तृत क्षति आंकलन गर्ने कार्य यथाशीघ्र प्रारम्भ गरी सम्बन्धित निकायले यथासमयमा सम्पन्न गर्ने र अर्को परिषद् बैठकमा पेश गर्ने निर्णय समेत भएको छ। उक्त नाका सञ्चालन नहुँदासम्मका लागि वैकल्पिक सडक सञ्चालनका लागि आवश्यक गृहकार्य अगाडि बढाइएको छ।

गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय–समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको भनाइ छ।

उनले त्यस्ता सूचना एवं जानकारीको पूर्ण परिपालना गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सहयोग गर्न सबै नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीसमक्ष अपिल गरे। “विपद्को यस घडीमा जीउ धनको जोखिम न्यूनीकरण गर्ने सरकारको अभियानमा हातेमालो गर्न सबै राजनीतिक दल, संघसंस्था एवं सबै सरोकारवालामा अनुरोध गर्न चाहन्छु,” उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर