भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं ।  तिब्बततर्फ भइरहेको अविरल वर्षाका कारण नेपाल–चीन सीमा क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

“छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भईरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको चिनियाँ अधिकारीबाट प्राप्त सूचनाका आधारमा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ।” प्रशासनले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ,

जिल्ला प्रशासनले विशेषगरी नदी किनारका बासिन्दाहरूलाई सावधानी अपनाउन भनेको छ भने अरनिको राजमार्ग (बन्देदेखि लिपिङसम्म) मा सवारी साधन सञ्चालन गर्दा पनि विशेष ध्यान दिन अनुरोध गरिएको छ।

भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २०

गएराति रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले दिएको जानकारी अनुसार थप दुई जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन्। यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइत,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डीलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्।

यसैगरी चिनियाँ नागरिक यू युए, लि ख्वाछिङ, याङ छ्वान, हाई हाङ, यौ स्याओ छ्यौ र चौ युङ बेपत्ता छन्। हालसम्म ५५ जनाको उद्धार गरिएको छ। ७ जनाको शव फेला परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर