मनसुनी वायुको प्रभाव : आज देशभर मध्यम वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित शुक्रबार देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार शुक्रबार साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५.६ मिलिमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ ।
उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताइन् । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौंको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो ।
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६.४ मिलिमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४.८, सोलुखुम्बुमा ३५.६ र झापाको केचनाकवलमा ३३.४ मिलिमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिइन् । यो मध्यम वर्षा हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।