त्रिविमा ताला खोल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लगाइएको ताला तत्काल खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता महेश भट्टराईद्वारा दायर गरिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले ताला खोल्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले त्रिवि उपकुलपति, रेक्टर, रजिष्ट्रार कार्यालय तथा सेवा आयोगमा जेठ १४ र जेठ ३० गतेदेखि लगाइएको तालाबन्दी तत्काल खोल्न निर्देशन दिएको हो ।
आदेशमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरलाई ताला खोल्न आवश्यक सुरक्षा तथा प्रशासनिक सहयोग गर्न भनिएको छ । त्रिविका कानुनी सल्लाहकार नारायण प्रसाद खनालका अनुसार, आदेशअनुसार सम्बन्धित निकायहरूले तत्कालै आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
त्रिविमा तालाबन्दी आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले जेठ ३० गतेदेखि थालेको हो। त्यसअघि जेठ १४ गते उपत्यकाका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीहरूले कार्यालयहरूमा तोडफोड गर्दै ताला लगाएका थिए ।