सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । गए राति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको छ । सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा भएको वर्षाका कारण मेलम्ची नदीमा जलसतह केही बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै नुवाकोटको त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्ने भएकाले नदी तटीय क्षेत्र र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
बझाङको बउलीगाड नदी आसपासमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मनाङ, रुपन्देही, पर्वत, धादिङ, बाजुरा, बैतडीलगायतका ठाउँमा पनि अहिले पानी परेको छ । आज दिउँसो र राति पनि धेरै ठाउँमा पानी पर्ने र मधेशबाहेकका अरू प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।