कुलिङ अफ पिरियडमा अनधिकृत छेडखानी : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ मा अनधिकृत छेडखानी भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बुधवार विज्ञप्ति जारी गर्दै विधेयकमाथि भएको छेडखानीले संविधानको मर्ममाथि प्रहार भएको ठहर गरेको छ ।
‘..सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधी प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस जालसाजीपूर्ण घटनाले सिङ्गो संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि पनि प्रश्न उठेको छ ।’
यस्तै यो विषय गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न रहेको पनि माओवादी केन्द्रले ठहर गरेको छ। ‘यसले सार्वभौम संसद्को आत्मामाथि सिधै प्रहार गरेको छ । ससदमाथिको धोका, मानमर्दन र अपमान भएको यस घटनाले संविधानको मर्म र भावनामा गम्भीर चोट पुर्याएको छ,’ माओवादी केन्द्रले भनेको छ। विधेयक सुशासनका लागि कोशेढुंगा साबित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात हुनुका साथै संसदीय मूल्य, मान्यतालाई ठाडो चुनौतीसमेत दिएको विज्ञप्तिमा भनिएको छ।