नागढुङ्गा सुरुङ मार्ग अगाडिको भागमा चिरा पर्‍यो

काठमाडौं । त्रिभुवन राजपथको सिस्ने खोलास्थित नागढुङ्गा सुरुङ मार्गको काठमाडौं प्रवेशद्वार अगाडिको भागमा जमिनमा चिरा परेको छ । निर्माणाधीन नागढुङ्गा मुग्लिङ सडकअन्तर्गत नागढुङ्गा–नौबिसे सडक खण्डमा पर्ने त्रिभुवन राजपथमा अघिल्लो वर्ष पहिरो गएको सो क्षेत्रमा अहिले पुनः जमिन चिरिएको हो ।

नजिकै बस्ती र तल सडक रहेको सो क्षेत्रको जमिन चिरिएको र केही भाग सरेको सूचना आएपछि नागढुङ्गा–नौबिसे सडक आयोजना र सुरुङ निर्माण आयोजनाका प्रमुख र प्राविधिकहरूले निरीक्षण तथा अनुगमन गरेको छ ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सुरुङ मार्ग प्रवेशद्वारको अघिल्लोतिरको दाहिनेपट्टि करिब १ सय ८० मिटर चौडाइ र ४० मिटरको उचाइमा पहिरो बग्ने सम्भावना रहेको प्रविधिकहरुको भनाइ रहेको बताए ।

यसभन्दा अघि पनि सोही ठाउँमा पहिरो गएको र सो क्षेत्रमा त्रिपालले ढाकिएको भए पनि पुन जमिन चर्किएको देखिएपछि तत्काल माथिल्लो भागमा त्रिपाल राखेर पानी छिर्न नदिई सम्भावित जोखिम कम गर्ने वातावरण बनाउन र आवश्यक सामाग्रीको व्यवस्थापन गर्न दुवै आयोजना प्रमुखलाई प्रजिअ घिमिरेले निर्देशन दिएको छ ।

पहिरोको नजिकै माथिल्लोपट्टि केही घरहरु पनि रहेका छन् । पहिरो झर्दा माथि रहेका घरसँगै तल रहेको सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथमा समेत प्रभाव पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर