देशका तराई तथा पश्चिमी भेगमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं  । आज शनिबार साँझदेखि सोमबार बिहानसम्म देशका तराई तथा पश्चिमी भेगमा धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सक्रिय भएसँगै देशका केही भागमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष मौसम बुलेटिन जारी गरेको छ।

महाशाखाको बुलेटिन अनुसार, न्यून चापीय प्रणालीको प्रभावले गर्दा शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

यसका साथै अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित वर्षाको कारणले निम्तिन सक्ने जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेगान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

विशेष गरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने र ठूला तथा साना नदी नाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने प्रक्षेपण गरिएको छ। वर्षाको प्रत्यक्ष प्रभाव दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्यका साथै सडक तथा हवाई यातायातमा समेत पर्न सक्ने भएकाले आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका उपाय अवलम्बन गर्न महाशाखाले विशेष अनुरोध गरेको छ।

महाशाखाले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित अपडेट गराइरहेकाले उसले थप तथा अद्यावधिक मौसमी सूचनाका लागि महाशाखाका नियमित बुलेटिन हेर्न र आधिकारिक जानकारी लिन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर