दैलेखमा मिथेन ग्यास रहेको प्रारम्भिक अध्ययन प्रतिवेदन

काठमाडौं । नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौताअनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ । नेपाल सरकारलाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्षसम्म नेपाललाई पुग्नेगरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जानकारी दिए । प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पुर्याउने आशा गरिएको छ । ड्रिलिङका बेला सङ्कलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो ।
दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्यासको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । चारवटा भण्डारणबाट ग्यास प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० वर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ । दैलेखका विभिन्न चारवटा स्थानमा करिब ४ सय ३० अर्ब घन मिटर मिथेन ग्यास हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको मन्त्रालयले जानकारी दिएको छ । अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा अगाडी बढाउने तयारी गरेको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न गर्नेगरी सरकारले तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा प्रधानमन्त्री हुँदा सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएसँगै सुरु गरिएको कार्य निष्कर्षमा पुग्ने तयारीमा छ ।