पहिरोले भेडेटार–रवि–राँके सडक पुन: अवरुद्ध

काठमाडौं । भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन ।
शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
‘भेडेटार–रवि–राँके सडकअन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठुलो पहिरो झरेर आज दिनभर सफा गर्न समय लाग्ने भएकाले डाँडाबजार–बुढिमोरङ मुलघाटको सडक प्रयोग गर्नुहुन सबैमा जानकारी गराइन्छ,’’ अध्यक्ष रुम्दालीले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरे । ठुलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने उनको भनाइ छ । भेडेटार–रवि–राँके सडकखण्ड निर्माणाधीन अवस्थामा छ । भेडेटार–डाँडाबजारको दूरी करिब १२ किलोमिटर रहेको छ ।