सुनवलमा रूखले च्यापिएर दुई जनाको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा रूखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । हिजो शुक्रबार अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
घटनामा सुनवल ७ की ३० वर्षीय मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ ।
पानी परेपछि प्रतीक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको ठुलो रूखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतीक्षालयसमेत भत्किएको प्रहरीले जनाएको छ । नवलपरासीसहित आसपासका जिल्लामा हिजो तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।