बागमती प्रदेशमा ब्ल्यू बुकको सट्टा क्यूआर कोड वितरण

काठमाडौं । बागमती प्रदेश सरकारले सवारीसाधन धनी प्रमाण पुर्जाको सट्टा (ब्ल्यू बुक) को क्यूआर कोड वितरण सुरु गरेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूबाट ब्ल्यू बुकको क्यूआर कोड वितरण गर्न थालिएको जनाएको छ।
क्यूआर प्रणालीबाट सवारीसाधनको विवरण जाँच, ब्ल्यू बुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिन्छ । क्यूआर कोड भएपछि ब्ल्यू बुक साथमा बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बागमती प्रदेशभर अब सवारीसाधनको जाँचका क्रममा ब्ल्यू बुकको क्यूआर देखाए पनि पुग्नेछ । ब्ल्यू बुकको क्यूआर कोड प्राप्त गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको वेबसाइटभित्र रहेको प्रणालीमा गएर आफ्नो व्यक्तिगत विवरण र सवारीसाधनको विवरण भर्नुपर्छ । विवरण भरेपछि यातायात कार्यालयमा जाने मिति बुक गर्नुपर्छ ।
बुक गरेको मितिमा ब्ल्यू बुकको सक्कल प्रति र नागरिकतासहित यातायात कार्यालयमा उपस्थित भएर प्रमाणित गरेपछि मोबाइलमा क्यूआर कोड प्राप्त गर्न सकिन्छ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधाराका सूचना अधिकारी गोविन्दराज शिवाकोटीले ब्ल्यू बुक क्यूआर वितरण सुरु भएपनि सेवाग्राहीको संख्या थोरै भएको बताएका छन् ।
गत वैशाख १९ गते राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बागमती प्रदेशबाट जारी भएका ब्ल्यू बुकका लागि क्यूआर कोड प्रणाली सुरुवात भएको थियो । तर सुरुवाती केही दिनसम्म मन्त्रालयले आवश्यक प्रविधि र प्रणाली हस्तान्तरण नगरेकाले यातायात कार्यालयहरूले क्यूआर कोड दिन पाएका थिएनन् । अब भने उक्त प्रणाली सुचारु भएको बताइएको छ ।