नेपालगञ्ज कर्फ्यु र निषेधाज्ञामुक्त

काठमाडौं । स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा मंगलबारदेखि पूर्णरुपमा हटाएको छ । नेपालगञ्जमा विगत आठ दिनदेखि कर्फ्यु र निषेधाज्ञा लाग्दै आएको थियो ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । त्यसपछि राति कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा समय घटाउँदै लगेको थियो ।

नेपालगञ्जमा उत्पन्न विषम परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण नागरिक, समन्वय र सहयोग गर्ने धर्मगुरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मीलगायत सबैलाई बाँके प्रशासनले आभार व्यक्त गरेको छ ।

स्थानीय प्रशासनले नेपालगञ्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र कर्फ्यु र निषेधाज्ञा लगाउँदैआएको थियो । सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्ट्याटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर