पशुपतिस्थित विद्युतीय शवदाह गृह निःशुल्क बन्दै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवलाई विद्युतीय शवदाह गृहमा निःशुल्क गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको कोषका सदस्यसचिव डा. मिलन थापाले जानकारी दिए ।
डा. थापाका अनुसार पशुपतिमा अहिले दुईवटा विद्युतीय शवदाह गृह भएकोमा एउटा मात्र सञ्चालनमा रहेको तथा बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शवदाह गृह निर्माण गरी निःशुल्क बनाइने छ ।
पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपैयाँ शुल्क लिने गरेको छ ।