पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौं ।  मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अर्याललाई बुधबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिवसमेत रहनुभएका ५९ वर्षीय अर्याललाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबिच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ ।

उक्त निर्णयबाट सङ्गठित समूहलाई आर्थिक लाभ पुग्ने र नेपाली श्रमिकमाथि भएको ठगीलाई संरक्षण मिल्ने अवस्था सिर्जना भएको अनुसन्धानको प्रारम्भिक आधारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार यस प्रकरणमा अमेरिकी डलर ६३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी नेपाली रुपियाँ एक अर्ब ६९ करोड दुई लाख २४ हजारभन्दा बढी रकम गैरकानुनी रूपमा सङ्कलन गरी मलेसिया पठाइएको विषय अनुसन्धानको दायरामा रहेको छ ।

सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने निर्णय गरिएको, त्यसबाट मुलुकको विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने अवस्था सिर्जना भएको तथा श्रमिकमाथि भएको सङ्गठित ठगीमा पदीय जिम्मेवारीअनुसार कानुनी उपचार नगरेको आरोप अर्यालमाथि लगाइएको छ ।

यस प्रकरणमा अनुसन्धान अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट मङ्सिर २ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको सिआईबीले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रामभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

सिआईबीले गैरकानुनी रूपमा सङ्कलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर