हुथीको आक्रमणबाट एक नेपालीको मृत्यु
काठमाडौं । इरान समर्थित यमनको विद्रोही समूह हुथी र साउदी अरेबियाबिच रणनीतिक महत्वका पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनेको छ । दुवै पक्षले तेल पूर्वाधार र बन्दरगाहलगायतका महत्त्वपूर्ण स्थानमा आक्रमण गर्न थालेपछि दुई पक्षबिचको द्वन्द्व चर्किएको छ ।
साउदी अरेबियाको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार दक्षिण पश्चिमी जाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा एउटा क्षेप्यास्त्र प्रहार हुँदा एक नेपाली कामदारको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । आक्रमणपछि प्रशोधन केन्द्रमा आगलागी भएको थियो । मन्त्रालयका अनुसार घटनाका कारण केन्द्रका केही सञ्चालन गतिविधि अस्थायी रूपमा बन्द गर्नुपरेको थियो ।
हुथीहरूले साउदी अरेबियाको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र रास तनुरालाई निशाना बनाएको दाबी गरेको एक दिनपछि जाजानमा आक्रमण भएको हो ।
बुधवार खिचिएको भूउपग्रह तस्बिरमा तटीय प्रायद्वीपबाट ठुलो मात्रामा कालो धुवाँको मुस्लो उठिरहेको देखिएको थियो । हुथीको नियन्त्रणमा रहेको सशस्त्र सेनाले साउदी अरेबियाको पूर्वी प्रान्तमा रहेको रास तनुरामा गरिएको आक्रमणबाट आगलागी भएको जनाएको छ । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो कच्चा तेल निर्यात केन्द्रमध्ये एकको हिस्सा हो । एक ढुवानी स्रोतले बिहीबार सीएनएनलाई बताएअनुसार आक्रमणपछि उक्त केन्द्रबाट तेल लोड गर्ने काम रोकिएको थियो । यद्यपि, त्यो प्रक्रिया पुनः सुरु भएको छ वा छैन भन्ने स्पष्ट भइसकेको छैन ।
साउदी नेतृत्वको गठबन्धन सेनाले रास तनुरामाथि आएका चार वटा ड्रोनलाई बिचमै रोकेर नष्ट गरेको जनाएको छ। ड्रोनका अवशेष खसे पनि कुनै मानवीय क्षति नभएको गठबन्धनको भनाइ छ । रास तनुरा तेल प्रशोधन केन्द्रको दैनिक प्रशोधन क्षमता पाँच लाख ५० हजार ब्यारेल रहेको छ । अमेरिका–इरान युद्ध सुरु हुनुअघि त्यहाँ साउदी अरेबियाको मुख्य कच्चा तेल निर्यात केन्द्र रहेको विशाल औद्योगिक परिसरको हिस्सा थियो ।
साउदी सरकारको स्वामित्वमा रहेको तेल कम्पनी आराम्कोले सीएनएनको टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन । हुथीहरूले बुधवार रियादस्थित किङ अब्दुल्लाह इकोनोमिक सिटीमा पनि आक्रमण गरेको जिम्मेवारी लिएका छन् । साउदी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा ११ जना घाइते भएका थिए ।
