अस्ट्रेलियामा अनलाइन सुरक्षामा नयाँ कानुनी व्यवस्था
काठमाडौं । सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति जवाफदेही बनाउन अस्ट्रेलियाले नयाँ कानुनी व्यवस्था लागू गर्ने तयारी गरेको छ । अनलाइन माध्यमबाट हुने दुर्व्यवहार, हानिकारक सामाग्रीको प्रसार र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव नियन्त्रण गर्ने उद्देश्यले अस्ट्रेलियाली संसद्ले ‘डिजिटल ड्युटी अफ केयर’ कानुन पारित गरेको हो ।
नयाँ कानुनले प्रविधि कम्पनीहरूलाई आफ्ना डिजिटल प्लेटफर्मबाट उत्पन्न हुन सक्ने जोखिम पहिचान गर्ने, त्यसलाई न्यूनीकरण गर्ने र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने दायित्व तोकेको छ । तोकिएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । जरिवानाको अधिकतम सीमा १० करोड ९० लाख अस्ट्रेलियन डलर वा विश्वव्यापी आम्दानीको पाँच प्रतिशत हुनेछ । यीमध्ये जुन रकम बढी हुन्छ, त्यही लागू हुनेछ ।
यो कानुन फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा मात्र सीमित रहने छैन । अनलाइन गेमिङ प्लेटफर्म, मोबाइल एप तथा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित संवाद सेवासमेत यसको नियमनको दायरामा पर्नेछन् ।
विशेष गरी बालबालिका तथा किशोर किशोरीलाई अनलाइन जोखिमबाट सुरक्षित राख्नु, साइबर दुर्व्यवहार नियन्त्रण गर्नु र प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने डिजिटल सुविधाहरूको जोखिम घटाउनु कानुनको प्रमुख उद्देश्य रहेको सरकारले जनाएको छ ।
नयाँ व्यवस्थाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफ्नो फिडमा देखिने सामग्रीमाथि थप नियन्त्रण गर्ने अधिकारसमेत दिएको छ । १६ वर्ष वा सोभन्दा माथिका अस्ट्रेलियाली प्रयोगकर्ताले चाहेको अवस्थामा एल्गोरिदममा आधारित व्यक्तिगत सामग्री सिफारिस प्रणाली बन्द गर्न सक्नेछन् । त्यसपछि उनीहरूले आफूले पछ्याएका व्यक्ति तथा संस्थाका सामाग्रीलाई प्राथमिकताका आधारमा हेर्न सक्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको रुचि, खोजी गतिविधि र अनलाइन व्यवहारको विश्लेषण गरेर सामग्री सिफारिस गर्दै आएका छन् । नयाँ व्यवस्थाले यस्तो प्रणालीमाथि प्रयोगकर्ताको निर्भरता घटाउनुका साथै आफूले हेर्ने सामाग्री छनोट गर्ने स्वतन्त्रता बढाउने अपेक्षा गरिएको छ ।
कानुनले अनलाइन सेवाका कारण हानि व्यहोरेका व्यक्तिलाई सम्बन्धित प्रविधि कम्पनीविरुद्ध अस्ट्रेलियाली अदालतमा कानुनी उपचार खोज्ने अधिकारसमेत दिएको छ । त्यस्तै, वास्तविक व्यक्तिका तस्बिर प्रयोग गरेर नक्कली अश्लील सामाग्री तयार गर्ने एप तथा वेबसाइटमाथि कारबाही गर्न नियामक निकायलाई थप अधिकार प्रदान गरिएको छ ।
सञ्चारमन्त्री अनिका वेल्सले नयाँ व्यवस्थाले प्रविधि कम्पनीलाई आफ्ना सेवाबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी लिन बाध्य बनाउने बताएकी छन् । उनका अनुसार अनलाइन सुरक्षाको दायित्व अब प्रयोगकर्ता र अभिभावकमा मात्रै सीमित नरही डिजिटल सेवा उपलब्ध गराउने कम्पनीहरूले पनि वहन गर्नुपर्नेछ ।
सरकार र ग्रिन्स पार्टीबीच भएको सहमतिपछि संसद्बाट पारित भएको कानुनप्रति भने विपक्षी लिबरल पार्टी र प्रविधि उद्योगका केही प्रतिनिधिले असन्तुष्टि जनाएका छन् । उनीहरूले हानिकारक सामाग्रीको परिभाषा पर्याप्त स्पष्ट नभए अभिव्यक्ति स्वतन्त्रता प्रभावित हुन सक्ने बताएका छन् । साथै, ठूलो जरिवानाबाट बच्न कम्पनीहरूले कानुनी रूपमा वैध सामाग्रीसमेत हटाउन सक्ने जोखिम औँल्याएका छन् ।
नयाँ कानुन कार्यान्वयनका लागि प्रविधि कम्पनीहरूलाई १२ महिनाको तयारी अवधि दिइएको छ । उक्त अवधि समाप्त भएपछि कानुनका प्रावधान पूर्ण रूपमा कार्यान्वयनमा आउनेछन् ।
यसअघि सन् २०२५ मा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने व्यवस्था गरेको अस्ट्रेलियाले पछिल्लो कानुनमार्फत डिजिटल प्लेटफर्ममाथिको नियमनलाई थप विस्तार गरेको छ । नयाँ व्यवस्थाले विशेष गरी ठूला प्रविधि कम्पनीको व्यावसायिक जिम्मेवारी र प्रयोगकर्ताको अधिकारलाई कानुनी रूपमा जोड्ने प्रयास गरेको छ ।
