रास्वपाको आन्तरिक विषयमा कांग्रेसको चासो छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएका कुनै पनि विवाद र समस्यामा कांग्रेस प्रवेशन नगर्ने बताएका छन् ।

आज  मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक विषयमा कांग्रेसको कुनै चासो नरहेको बताएका हुन् । उनले पार्टीको महाधिवेशनसम्बन्धी दस्तावेजमै यस विषयमा स्पष्ट धारणा राखिएको उल्लेख गर्दै रास्वपाभित्रको विवादमा कांग्रेसले कुनै हस्तक्षेप नगर्ने बताए ।

‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दै पस्दैनौँ । हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच गर्दैनौँ, कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ थापाले भने ।

सभापति थापाले मुलुकको राजनीतिक व्यवस्था सञ्चालनमा सरकार र प्रतिपक्ष दुवैको आ–आफ्नै जिम्मेवारी हुने बताए । प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाएर अघि बढ्नुपर्ने पक्षमा पनि कांग्रेस नरहेको उनको भनाइ थियो । कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेकाले सरकारसँगको सम्बन्ध मुद्दा र आवश्यकताका आधारमा तय हुने उनले स्पष्ट पारे ।

‘हामी प्रस्ट छौँ, हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौँ । जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ, त्यहाँ हातेमालो गर्छौँ । जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो, त्यहाँ खबरदारी गर्छौँ । जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो, त्यहाँ प्रश्न सोध्छौँ,’ थापाले भने । उनको अभिव्यक्तिले रास्वपाको आन्तरिक राजनीतिबाट अलग रहँदै सरकारका कामकारबाहीमा आवश्यकताअनुसार सहयोग र निगरानी गर्ने कांग्रेसको रणनीति स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर