प्रधानमन्त्री शाह र मोदीबिच नयाँ दिल्लीमा उच्चस्तरीय वार्ता

काठमाडौं ।  भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उहाँहरूबिच भेटवार्ता सुरु भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे सहभागी हुनुहुन्छ । भारतीय पक्षबाट विदेशमन्त्री डा एस जयशङ्करसहित उच्च सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

त्यसअघि हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई उहाँका भारतीय समकक्षी मोदीले स्वागत गर्नुभएको थियो । यसलगतै नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा भारतीय सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

“करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व”

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको बताएका छन् । नयाँ दिल्लीस्थित गान्धीको समाधिस्थल राजघाट पुगेर माल्यार्पणपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

पुस्तिकामा प्रधानमन्त्री शाहले आफू भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको उल्लेख गर्दै गान्धीको विरासतमा अमर ज्योति देखेको बताएका छन् । ‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो,’ उनले लेखेका छन् ।

उनले करुणा नै सर्वोच्च शक्ति भएको र समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित रहेको उल्लेख गरेका छन् ।प्रधानमन्त्री शाहले नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले जोडिएको बताएका छन् ।

गान्धीका कालजयी आदर्शप्रति सम्मान व्यक्त गर्दै इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका आधारमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर