आज दिल्लीमा प्रधानमन्त्री शाहको कार्यक्रम
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअन्तर्गत आज प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ः०० बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा केही आयोजना उद्घाटन गर्नेछन्। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। आजै प्रधानमन्त्री शाहकाे सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयाेजना गर्नेछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार आज दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
भ्रमणको पहिलो दिन हिजो प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरे। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको छ।
आज प्रधानमन्त्री शाहले राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू सँगशिष्टाचार भेट पनि गर्नेछन्। आजै प्रधानमन्त्री शाहले नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणमा द्विदिवसीय राजकीय भ्रमणमा आइतबार दिल्ली गएका हुन्।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी आजै साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।
प्रधानमन्त्री कार्यालयका अनुसार भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछन्।
