भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु
काठमाडौं । भारतको मणिपुरस्थित चन्देल जिल्लामा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा मदिरा सेवनपछि बिरामी परेका १५० भन्दा बढी व्यक्तिको इम्फालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रशासनका अनुसार चकपिकारोङ उपमण्डल र आसपासका क्षेत्रमा मिसावटयुक्त मदिरा सेवनसँग सम्बन्धित शंकास्पद मृत्युका घटना सार्वजनिक भएका हुन्। गत नोभेम्बर १८ देखि विषाक्त मदिरा सेवनपछि बिरामी पर्ने र मृत्यु हुने क्रम सुरु भएको बताइएको छ।
घटनाबारे जिल्लाका एक अधिकारीले बीबीसी हिन्दीलाई सुरुमा धेरै जनाको मृत्यु भएको जानकारी दिएका थिए। चन्देलका प्रहरी उपरीक्षकले जारी गरेको प्रारम्भिक विज्ञप्तिमा आठ जनाको मृत्यु पुष्टि गरिएको थियो। तर, पछि मृतकको संख्या बढेर ११ पुगेको हो।
घटनापछि जिल्ला प्रशासनले सर्वसाधारणलाई मदिरा सेवन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। चन्देलका जिल्ला उपायुक्तले सूचना जारी गर्दै चकपिकारोङ र आसपासका क्षेत्रमा मिसावटयुक्त मदिराका कारण मृत्युका घटना भएकाले सतर्क रहन अपिल गरेका छन्।
