युवाद्वारा आत्महत्या, बिचौलिया इनमको नाम उल्लेख
काठमाडौं । प्रहरी हिराशतमा रहेका विवादास्पद बिचौलिया भनिएका व्यक्ति इनम सापकोटाको नाम जोडेर फेसबुकमा स्टाटस लेखेका एक युवा मृत फेला परेका छन् । झापाको कनकाई नगरपालिका–३ मा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु खतिवडा) आफ्नै घरमा मृत भेटिएका हुन्।
झापा जिल्ला प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार खतिवडा घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
मृत्यु हुनुअघि खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा दुईवटा स्टाटस लेखेको पाइएको छ। तीन दिनअघि लेखिएको पहिलो स्टाटसमा उनले आफ्नो जीवनमा लागेको आरोप र त्यसले परिवारमा पारेको असरबारे उल्लेख गरेका छन्।
उनले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाइएको भन्दै आफ्नो परिवारको कुनै दोष नरहेको बताएका छन्। स्टाटसमा उनले बुबाको प्रतिष्ठामा आँच पुर्याउने गरी आरोप लगाइएको उल्लेख गर्दै आमा, बुबा र परिवारका सदस्यसँग माफीसमेत मागेका छन्। (तस्बिरः सांकेतिक)

