२२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । थाइल्यान्डबाट ल्याएको साढे पाँच किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट खटिएको टोलीले भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको हो। उनको साथबाट साढे पाँच किलोग्राम सेतो हेरोइन, एउटा पासपोर्ट र एउटा मोबाइल नियन्त्रणमा लिइएको लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले बताए।
प्रहरी नियन्त्रणमा लिएको सेतो हेरोइनको बजार मूल्य प्रति ग्राम ४० हजार रुपैयाँ रहेको छ। यसहिसाबले २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ। यो सेतो हेरोइन भारत पुगेपछि अझ महँगो हुने गरेको पाइएको छ।
उनी यसअघि दुई पटक नेपाल भएर भारत गएको पनि खुलेको छ। पहिलो पटक लाओसबाट नेपाल आएर हवाई मार्गबाट र दोस्रो पटक स्थल मार्गबाट भारत गएको पाइएको रेग्मीले जानकारी दिए। त्यस्तै, उनले जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको भ्रमण गरेको पाइएको छ। उनी लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको खुलेको एसपी रेग्मीले बताए।
उनीविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ। जसअनुसार, उनलाई १५ वर्षदेखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ।
