दानबहादुर कार्कीले नियुक्ति पत्र बुझेको दावी
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारको नियुक्ति पत्र बुझेका छन् । तिहार बिदा सुरु हुनुअघि नै कार्कीले नियुक्ति पत्र बुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दावी रहेको छ ।
सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका कार्की र सरकारबीचको खटपटका बीच अब उनले प्रधानमन्त्री कार्यालयमा बसेर कसरी काम गर्छन् भन्ने चासो बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरूका अनुसार उनको नयाँ जिम्मेवारीका लागि सिंहदरबारस्थित कार्यालयमा कार्यकक्षसमेत तयार गरिएको छ ।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । ३३औँ प्रहरी महानिरीक्षकका रूपमा कार्यरत कार्कीलाई नयाँ जिम्मेवारीमा खटाउने निर्णयसँगै डा. मनोज केसीले प्रहरी संगठनको नेतृत्व सम्हालिसकेका छन् ।
सरकारको निर्णयलाई गैरकानुनी भन्दै कार्की त्यसको भोलिपल्टै सर्वोच्च अदालत पुगेका थिए । आफूलाई आईजीपीबाट हटाएर नयाँ जिम्मेवारीमा पठाउने निर्णय बदर गर्न माग गर्दै उनले रिट दायर गरेका हुन् । उक्त रिटमाथि कात्तिक ३० गते पहिलो सुनुवाइ हुने तय भएको थियो ।
