आज बिहीबार नेप्से दोहोरो अंकले घट्यो
काठमाडौं । आज बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १२.९५ अंकले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । आज २११ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ५६ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले घटेर ४७८.९३ विन्दुमा कायम भएको छ । कारोबारमा रहेका १३ उपसूचकमध्ये १२ वटामा गिरावट आएको छ भने एउटा उपसूचक मात्रै बढेको छ । बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बिहीबार ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर ४४ हजार ४१२ पटक खरिदबिक्री भएका छन् । यसबाट कुल ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ रुपैयाँको कारोबार भएको छ ।
