सेयर बजारमा हरियाली, नेप्से ६.६२ अंकले बढ्यो
काठमाडौं । हिजो सोमबार उच्च अंकले घटेको सेयर बजारमा आज मंगलबार सामान्य सुधार देखिएको छ । सोमबार ३२ अंकभन्दा बढीले घटेको बजार मंगलबार भने ६.६२ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६४.१३ विन्दुमा पुगेको छ । यस दिन ०.२४ प्रतिशतको वृद्धि देखिएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ । त्यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.४८ अंकले बढेर ४८३.२१ विन्दुमा पुगेको छ । नेप्सेका १३ उपसूचकमध्ये ९ वटामा वृद्धि भएको छ भने ४ वटामा गिरावट आएको छ ।
बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम साढे ५ अर्ब रुपैयाँ नाघेको छ । मंगलबार ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५७ हजार ४४९ पटक खरिदबिक्री भएका छन् । यसबाट कुल ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।
