बाढीपहिरोले आज पनि ५ सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोले आज पनि विभिन्न राजमार्ग अवरुद्ध छन्। बीपी राजमार्ग, कान्ति लोकपथ, मध्यपहाडी राजमार्गसहितका सडकखण्ड बाढी पहिरोले अवरुद्ध भएका हुन्।  शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण धेरै सडकमा पहिरो खसेको छ। बाढी पहिरोले पाँचवटा सडक खण्ड पूर्ण रूपमा र चारवटा सडक खण्डमा आइतबार एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।

राजधानी काठमाडौँ आवतजावत गर्ने बीपी राजमार्ग र कान्ति राजपथ पनि आज अवरुद्ध छ। यी दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध भएको हो। बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोसी गाउँपालिका वडा नम्बर-९ पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो आएर थुप्रिँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

त्यसैगरी बाढीपहिरोको कारण ललितपुर र मकवानपुरमा कान्ति लोकपथ पनि अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पान्दु र टार्कुचेमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी गोरखा र खोटाङमा पनि बाढीपहिरोको कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन्।उता मुस्ताङमा जोमसोम कोरला सडक, पाल्पामा कालीगण्डकी करिडोर सडक र सुर्खेतमा कर्णाली राजमार्गमा पहिरो खस्दा एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर