पत्रकार किन पक्राउ परे ? किन रिहा गरिए ?

काठमाडौं । हिजो शुक्रबार सादा पोसाकका प्रहरी विभिन्न सञ्चारगृहमा प्रवेश गरे । पत्रकार विश्वमणि सुवेदी, धीरज बस्नेत र शोभराज बराललाई समाचार कक्षबाटै नियन्त्रणमा लिइयो । नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा समेत प्रहरी पुग्यो । समाचार लेख्ने पत्रकारको खोजी भयो । समाचार लेख्ने र जनतालाई सूचना दिने जिम्मेवारीमा रहेका पत्रकारलाई यसरी समाचार कक्षबाटै नियन्त्रणमा लिइएपछि प्रेस स्वतन्त्रता र राज्यको शक्ति प्रयोगसम्बन्धी गम्भीर प्रश्न उठे ।

घटनाको विरोध चर्कियो । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नै पत्रकारलाई विनासर्त रिहा गर्न माग गर्‍यो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दल तथा सरोकारवाला संस्थाहरूले पनि पत्रकार पक्राउको विरोध गरे । प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिने कार्यप्रति आपत्ति जनाउँदै कानुनी आधार सार्वजनिक गर्न माग गर्‍यो । चौतर्फी दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि पक्राउ परेका पत्रकारहरू रिहा भए ।

तर पत्रकार रिहा हुँदैमा घटनासँग जोडिएका प्रश्नको अन्त्य भएको छैन । बरु प्रधानमन्त्री कार्यालय र नेपाल प्रहरीले सार्वजनिक गरेका फरक–फरक स्पष्टीकरणले घटनालाई थप गम्भीर बनाएको छ । प्रधानमन्त्री कार्यालयले पत्रकार पक्राउमा आफ्नो संलग्नता नरहेको र घटनाबारे पूर्वजानकारीसमेत नभएको बताएको छ । उता, नेपाल प्रहरीले प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा साइबर ब्युरो सक्रिय भएको स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री कार्यालयको संलग्नता नरहेको बताएकी छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेको स्पष्टीकरणले घटनाको अर्को पाटो देखाएको छ । प्रहरीका अनुसार संगठनविरुद्ध प्रकाशित समाचार तथा सन्देशले प्रहरीको व्यावसायिकता, जनविश्वास, सरकारसँगको सम्बन्ध र अनुसन्धानमा नकारात्मक प्रभाव पार्न सक्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट चासो व्यक्त भएको थियो । त्यही चासोका आधारमा साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर