मनाङमा धेरै वर्षा : बीपी राजमार्ग अवरुद्ध : आज अपराह्नदेखि अर्णवको प्रभाव कम हुने
काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै वर्षा भएको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावका कारण यो अवधिमा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको जनाएको छ ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ। देशको अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।
यसैबीच अर्नब चक्रवातको अवशेषको असर र पश्चिमी वायुको पनि आंशिक प्रभावले देशभर विभिन्न स्थानमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनेक्रम जारी छ। सो अवधिमा देशका अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान अनि मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको मौसम महाशाखाले जनाएको छ। अपराह्नदेखि भने अर्नबको प्रभाव क्रमिक रूपमा कम हुने आँकलन मौसम महाशाखाले गरेको छ।
बीपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ ।
वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले बताए । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उनले सर्वसाधारणमा अनुरोध गरेका छन् ।
कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने
बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ। यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
