लुम्बिनी–चितवनको खेल रद्द, दुवै टोलीले अंक बाँडे
काठमाडौं । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका खेल प्रभावित भएका छन् । वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल टससमेत नभई रद्द भएको छ ।
निर्धारित तालिकाअनुसार दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेल मैदानमा पानी जमेकै कारण सञ्चालन हुन नसकेको हो । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको मैदान जलमग्न बनेको थियो । मैदान र पिचलाई त्रिपालले ढाकिए पनि वरपरबाट आएको पानी व्यवस्थापन हुन सकेन ।
एनपीएल इतिहासमा वर्षाका कारण खेल रद्द भएको यो पहिलो घटना हो । प्रतियोगितामा रिजर्भ डे नराखिएकाले दुवै टोलीले एक–एक अंक बाँडेका छन् । यसअघि पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले र चितवनले विराटनगरलाई ८ रनले पराजित गरेका थिए ।
आजै शनिबार साँझ ५ बजेका लागि निर्धारित विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल पनि अन्योलमा परेको छ । उक्त खेलको कटअफ समय साँझ ७:४१ बजे तोकिएको छ ।
वर्षासँगै रंगशालाको पानी निकास प्रणालीमाथि पनि प्रश्न उठेको छ । गत वर्ष १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिए पनि मैदानको पुरानै ड्रेनेज प्रणालीका कारण पानी निकासमा समस्या देखिएको हो ।

