जिबुटीमा डुङ्गा दुर्घटना : १०९ को मृत्यु, ११६ बेपत्ता

काठमाडौं । जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले आइतबार उक्त जानकारी दिएको हो ।

आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो । जिबुटीस्थित आइओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवार तथा आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।

उहाँले उद्धार तथा आपत्कालीन सहायता प्रदान गर्न आइओएमका टोली जिबुटीका अधिकारीसँग मिलेर घटनास्थलमा खटिएको बताउनुभयो । आइओएमका अनुसार दुर्घटनामा मृत्यु भएका १०९ जनामध्ये ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन् । मृत बालबालिकामा नौ बालिका र छ बालक रहेका छन् । दुर्घटनाबाट ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन् । उनीहरू सबै इथियोपियाली नागरिक हुन् ।

आइओएमले यो दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब-अल-मन्देब जलसन्धि पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको जनाएको छ । “मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद गरिबी, असुरक्षा र जलवायु परिवर्तनको बढ्दो प्रभावले धेरै मानिसलाई यो जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ,” आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर