बुढीगण्डकीमा बाढी : खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित
काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिचमा खसेको ठुलो पहिरोका कारण बुढीगण्डकीमा बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्याएको छ”, प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो, “धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठ वटा घर बगाएको छ ।”
महतका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको उहाँले जानकारी दिनुभयो ।
“सैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ”, उहाँले भन्नुभयो, “माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण दुई वटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ ।”
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन् । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चार वटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिनुभयो । “सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ”, उहाँले भन्नुभयो ।
“बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएकोे छ”, उहाँले भन्नुभयो ।
