५०० भन्दा बढी कन्टेनर गन्तव्यको प्रतीक्षामा
काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडकको मर्मतकार्य अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । सडकको प्रारम्भिक मर्मतपछि अत्यावश्यक सवारीसाधनलाई सीमित रूपमा आवतजावत गर्न दिइएको भए पनि पूर्ण रूपमा यातायात सञ्चालन गर्न थप मर्मत आवश्यक रहेको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले क्षतिग्रस्त बनेको थियो । सडकका विभिन्न ५० ठाउँमा पहिरो खसेको, सडक भासिएको तथा १० ठाउँमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग निर्माण भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । बाढीले बगाएको सडक र पुलको पहुँचमार्ग पुनर्निर्माण गर्न कठिनाइ भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार हाल इन्धन, एम्बुलेन्स, सडक, विद्युत् तथा सञ्चार सेवा सञ्चालनका लागि आवश्यक उपकरण र राहत सामग्री बोकेका सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न सकिने अवस्था छ ।
“प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेभल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, शर्माले भन्नुभयो, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”
९० करोडको क्षति, पुनर्निर्माणमा तीन अर्ब आवश्यक
केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोला क्षेत्रमा कालीगण्डकीको कटान तथा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको छ ।
सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार म्याग्दी खण्डको ३३ किलोमिटर सडकमध्ये २० किलोमिटरभन्दा बढी भाग क्षतिग्रस्त भएको छ । उक्त खण्डमा हालै कालोपत्र गरिएको तथा पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको थियो ।
“चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, सुवेदीले भन्नुभयो, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”
बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहनुभएका सुवेदीले यसपटकको बाढीले योजना सुरु भएयताकै ठूलो क्षति गरेको बताउनुभयो । उहाँका अनुसार अत्यधिक वर्षा, सहायक सडक भत्किनु, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सिर्जना हुनु र सहायक नदीमा बाढीको सतह बढ्नुलगायत कारणले कालीगण्डकीमा बाढीको आयतन बढेर ठूलो क्षति भएको हो ।
५०० भन्दा बढी कन्टेनर गन्तव्यको प्रतीक्षामा
सडक अवरुद्ध हुँदा कोरलानाकाबाट आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा रोकिएका छन् । भन्सार जाँचपास गरेर दसैँलाई लक्षित गरी ल्याइएका सामान गन्तव्यसम्म पुर्याउन नसकिएको हो ।
कोरलानाकाबाट हुने मालसामानको ढुवानी, मुस्ताङको स्याउ तथा आलु निकासी र दसैँतिहारको चाडपर्वमा बढ्ने आन्तरिक यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले अत्यावश्यक सेवा, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने तयारी गरिएको बताए ।
“अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, गैरेले भन्नुभयो, “सवारीसाधनको जाम हुन नदिन साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”
उहाँले सडकको अवस्था सहज नहुँदासम्म घुमघामका लागि आउने पर्यटकलाई आफ्नो भ्रमण योजना केही दिन पछाडि सार्न अनुरोध गर्नुभएको छ । अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर तथा स्याउ र आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
सुरक्षित यातायात सञ्चालनका लागि सुरक्षा निकाय सक्रिय
सडकमा यातायात सञ्चालनको तयारी तथा व्यवस्थापनबारे स्थलगत अनुगमन गर्न गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदीसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी भएका थिए ।
अनुगमनमा नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री, सशस्त्र प्रहरी बल नं। ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह तथा म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीलगायत जिल्ला तहका सुरक्षा अधिकारी सहभागी थिए ।
सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल तथा कार्ययोजना तयार गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।
सडक मर्मतको काम निर्धारित समयमै सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने तयारी भए पनि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, जोखिमयुक्त खण्डको व्यवस्थापन र सवारीसाधनको चाप नियन्त्रण तत्कालका प्रमुख चुनौती बनेका छन् ।
