कृष्णभीरको पहिरो छल्न वैकल्पिक सडक धमाधम निर्माण
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–काठमाडौं सडकखण्डको कृष्णभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएर यात्रुले सास्ती खेप्दै आएका बेला पहिरो छल्न निर्माण भइरहेको वैकल्पिक सडकले गति लिन थालेको छ।
गोरखातर्फबाट बेनीघाटदेखि फिस्लिङ जोड्ने गरी निर्माण भइरहेको उक्त सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको हो। गोरखा सडक योजना कार्यालयका अनुसार फिस्लिङपारि गोरखातर्फको पल्लोटारदेखि सिउरेनीटार हुँदै बेनीघाटसम्मको करिब १९ किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो।
गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनका अनुसार सडकको करिब १।२ किलोमिटर नयाँ ट्र्याक खोल्ने र बाँकी सडक स्तरोन्नति गर्ने काम दुईवटा प्याकेजमा अघि बढाइएको छ। दुवै योजनाको ठेक्का लागिसकेको र काम तीव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो।
नयाँ ट्र्याक निर्माणका लागि छेपेटार कन्स्ट्रक्सन गोरखासँग सम्झौता भएको छ। करिब सात मिटर चौडाइको डबल लेन ट्र्याक निर्माण गर्न एक करोड ७५ लाख २६ हजार रुपियाँमा सम्झौता भएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर आशिष रिजालले बताउनुभयो। असोज ५ गते सम्झौता भएको उक्त काम एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, बेनीघाटपारिको सिउरेनीटारदेखि घ्याच्चोकटार हुँदै ज्यामिरेघाट–फिस्लिङसम्मको करिब ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि हेटौँडाको अनुज कन्स्ट्रक्सनसँग एक करोड ७७ लाख ८१ हजार रुपियाँमा सम्झौता भएको छ। कात्तिक ५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सडकलाई डबल लेनमा विस्तार गर्न थालिएको हो।
बाँकी करिब १० किलोमिटर सडक कालोपत्र गर्न यसअघि नै ठेक्का लागिसकेको छ। प्रदेश र केन्द्र सरकारको समपूरक बजेटबाट काम अघि बढाइए पनि ठेकेदारले ढिलासुस्ती गरेको स्थानीयको गुनासो छ।
वैकल्पिक मार्ग निर्माणको प्रगतिबारे गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनलगायत सुरक्षा निकायका प्रमुखले निर्माणस्थलको निरीक्षण गर्नुभएको छ। टोलीले निर्माण कम्पनीसँग कामको प्रगतिबारे जानकारी लिँदै समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ।
यो सडक सञ्चालनमा आएपछि कृष्णभीरको पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग सहज रूपमा उपलब्ध हुने गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले बताउनुभयो। गण्डकी गाउँपालिका–६ पल्लोटारदेखि वडा नं. ८ सिउरेनीटारसम्मको सडक तत्काल सञ्चालनमा ल्याउने गरी स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ।
