हिमपातले हुम्लाको लिमी र हिल्सा सडक बन्द
काठमाडौं । हिमपातका कारण हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको न्यालु र नारा लेकमा बाक्लो हिउँ जमेपछि लिमी र हिल्सातर्फको यातायात सेवा अवरुद्ध भएको छ। सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सेवा सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्।
नाम्खा गाउँपालिका–५ को न्यालु र वडा नं ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा साढे तीन फिटभन्दा बढी हिउँ जमेको छ। असोजको पहिलो सातादेखि नै लिमीको आवागमन बन्द भएपछि स्थानीयवासीलाई अत्यावश्यक कामका लागि समेत बाहिर जान समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
उनका अनुसार लिमीमा कोही बिरामी परे वा अन्य अत्यावश्यक कामका लागि बाहिर जानुपरे हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ। दसैँ–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई समेत घर फर्किन समस्या भएको उनले बताए।
वडाध्यक्ष तामाङले न्यालु र नारा लेकमा जमेको हिउँ पन्छाएर सडक सञ्चालन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। सडक सञ्चालन नहुँदा लिमीका स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।
लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर अग्लो न्यालु लेक पनि एक हो। सडक अवरुद्ध भएपछि लिमीका तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन्। ताक्चीमा पनि दुईवटा होटल सञ्चालनमा छन्।
तीन फिट हिउँमा सुनखानी प्रहरी चौकी, पानी र रासनको समस्या
हिमपातका कारण लिमीको सुनखानीमा स्थापना गरिएको प्रहरी चौकीमा कार्यरत प्रहरीसमेत समस्यामा परेका छन्। तीन दिन लगातार भएको हिमपातपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ। दाउरा नपाउँदा खाना पकाउन र धारामा पानी जमेकाले खानेपानीको व्यवस्था गर्न समस्या भएको वडाध्यक्ष तामाङले बताए।
आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउने गरिएको छ। सडकमा हिउँ जमेकाले रासन तथा अन्य सामग्रीसमेत पैदलै बोकेर चौकीसम्म पु-याउनुपर्ने अवस्था छ।
