सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम उडानमा यात्रुको चाप

काठमाडौं ।  बाढीपहिरो र कालीगण्डकी नदीको कटानले कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै निजी वायुसेवा कम्पनीहरूले पोखराबाट हुने उडान दोब्बरभन्दा बढी गरेका छन्।

असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पोखराबाट मुस्ताङ जाने र फर्किने एकमात्र विकल्प हवाई मार्ग बनेकाले यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माले बताउनुभयो।

“सडक बन्द भएपछि हवाई उडानमा चाप बढेको छ। दैनिक सात उडान भइरहेको छ,” विमानस्थल प्रमुख शर्माले भन्नुभयो।

उहाँका अनुसार असोजमा परेको भीषण वर्षाका कारण दृश्य क्षमता (भिजिबिलिटी) कम भएपछि तीन दिन उडान स्थगित भए पनि यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स र समिट एयरलाइन्सले अहिले दैनिक सात–सात उडान गर्दै आएका छन्। विगतमा सडक सञ्जाल नियमित हुँदा दैनिक बढीमा पाँच–पाँचवटा उडान हुने गरेको थियो।

विगतमा नेपाली पर्यटक सडकमार्गबाट मुस्ताङ जाने गरे पनि हवाई मार्गबाट भारतीय तथा तेस्रो मुलुकका पर्यटक बढी आउने गरेका थिए। सडक अवरुद्ध भएपछि यसपटक सोह्रश्राद्धमा पितृतर्पणका लागि आउने नेपालीले समेत हवाई मार्गको प्रयोग गरेका छन्। दैनिक दुई सयभन्दा बढी पर्यटक हवाई मार्गबाट मुस्ताङ प्रवेश गर्ने गरेका छन्।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि दैनिकजसो विभिन्न कम्पनीका हेलिकप्टर चार्टर गरेर तीर्थालुसमेत आउने गरेका छन्। सुनसान बनेको मुस्ताङमा हवाई उडानले केही राहत भए पनि पर्यटकको चहलपहल भने बढ्न सकेको छैन। आपत्कालीन तथा चार्टर उडानसँगै नियमित हवाई उडान र पदमार्गबाट आउने पर्यटक मात्र अहिले मुस्ताङमा छन्।

जोमसोममा वायुसेवा कम्पनीहरूले ट्विनअटर विमानमार्फत यात्रु ओसारपसार गर्दै आएका छन्। अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकूल हुने भएकाले पोखरा–जोमसोम उडान हरेक दिन बिहान ११ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ। एउटा ट्विनअटर विमानमा एकपटकमा १८ जना यात्रु यात्रा गर्न सक्ने क्षमता रहेको छ।

छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले हवाई मार्ग रोज्ने गरेका छन्। बेनी–जोमसोम सडकबाहेक पोखरा जाने वैकल्पिक सडकसमेत नभएकाले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई मार्ग यात्रुको बाध्यता बनेको छ।

मुस्ताङमा निजी वायुसेवा कम्पनीबाहेक नेपाली सेनाले आफ्ना सामग्री ढुवानी तथा चार्टर उडानसमेत गर्दै आएको छ। मुस्ताङका धार्मिकस्थल भ्रमणका लागि हेलिकोप्टरबाट आउने पर्यटकका साथ अनिवार्य रूपमा सुरक्षा निकायका एक जना प्रतिनिधि रहने व्यवस्था रहेको छ। पोखरा–जोमसोम हवाई उडान बर्खा र जाडोयाममा बन्द हुने गरेको छ। वर्षमा करिब छ महिना मात्र यस हवाई मार्गमा नियमित उडान हुने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर