पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा आवतजावत ठप्प
काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा क्षति पुर्याएपछि आवतजावत ठप्प भएको छ ।
कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पर्वततर्फको पिल्लर बाढीले भत्काएको हो । करिब एक महिनाअघि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । पुलको छेउको जमिन नदीले कटान गरेपछि जोखिमयुक्त क्षेत्रमा त्रिपालले ढाकिएको थियो ।
गत १० गतेदेखि आवतजावत नै ठप्प हुने गरी पुलमा क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो पुल जोखिममा परेपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् ।
मालढुङ्गा पुल हुँदै बागलुङसँगै म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रुकुम, जाजरकोट, डोल्पा र सल्यानलगायत पश्चिम नेपालतर्फ आवतजावत गर्ने सवारीसाधनसमेत प्रभावित भएका छन् ।
