बाढीपहिरोबाट देशभर २१ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी हालसम्म २१ जनाको मृत्यु भएको छ । ७४७ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा सुरु भएको पछिल्लो चार दिनभित्र बागलुङमा पाँच जना, पाल्पामा चार, म्याग्दीमा छ, रोल्पामा एक, धादिङमा एक मकवानपुरमा एक, धनुषा एक, मनाङमा दुई जनाको मृत्यु भएको छ ।  वर्षाले सयौँ घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरुद्ध सडक खुलाउने काम तीव्र पारिएको छ । सबैभन्दा ठुलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ ।

बागलुङको ताराखोला–५ मा पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ । निसीखोला–३, पन्थीखरियामा पहिरोमा परि श्यामकुमारी विकसहित तीन बालकको मृत्यु भएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथागढी–२, रुप्सेमा शेरबहादुर चिदी तथा रिब्दीकोट–६, धुस्तुङमा कृष्णकुमारी सारुको पहिरोमा परि मृत्यु भएको छ । माथागढी–३, कसेनीको भैँसकट्टामा पहिरोले घर पुरिँदा लिलबहादुर घर्तीमगर, उहाँकी १७ वर्षीय छोरी दिना र छिमेकीकी १५ वर्षीय झरना घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेनी समाचारदाता ठाकुरप्रसाद आचार्यका अनुसार म्याग्दीको अन्नपूर्ण–३, फगामकी शिलकुमारी पाइजा र योगमाया पाइजा, अन्नपूर्ण–५, काफलडाँडा खर्कका सबिन गर्बुजा, अन्नपूर्ण–६ की पाँच वर्षीय जेनी पुर्जा तथा मालिका–३, रुमडाँडाका चिरन पुन र देवबहादुर पुनको मृत्यु भएको छ ।

म्याग्दी अन्नपूर्ण–५ का मनोज गर्बुजा, बेनी–३ भकिम्लीकी कुमारी विक र अन्नपूर्ण गाउँपालिका–६ का ओमबहादुर तिलिजा बेपत्ता हुनुहुन्छ । उहाँहरूको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

लेखनाथ समाचारदाता फणिन्द्र अधिकारीका अनुसार आइतबार बिहान मनाङको नार्पाभूमि–५ को हिमलुङ हिमालमा हिमपहिरोमा परि मृत्यु भएका दुई जनाको शव भेटिएको छ । आठ जना सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहोराका अनुसार हिमपहिरो आएको क्षेत्रमा पदयात्रामा गएका अरू १२ जना भने सकुशल रहेको जानकारी दिनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार २९५ घर उच्च जोखिममा परेका छन् । वर्षाले छ वटा पुलमा क्षति भएको छ भने दुई पुलमा आंशिक क्षति भएको छ । म्याग्दीमा बेनी–बागलुङ सडकखण्डबाहेक जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिममा रहेका करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । पहाडी जिल्लामा पहिरो र हिमपहिरो तथा तराई र नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम बढेपछि खोज तथा उद्धार टोली परिचालन गरिएको छ । उहाँले क्षतिको विवरण सङ्कलन तथा खोजी–उद्धार कार्य जारीसँगै जिल्ला तथा स्थानीय तहबाट विवरण प्राप्त हुने क्रम जारी रहेकाले प्रारम्भिक तथ्याङ्कमा थपघट हुन सक्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर