झरीपछि राष्ट्रिय राजमार्गहरूको आजको अवस्था
काठमाडौं । सडक विभागले पछिल्लो अवस्थाबारे जानकारी दिँदै अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात सहज बनाउने काम भइरहेको जनाएको छ। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग भने दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत रातीखोला, पानीधारा (हग्दी–फिस्लिङ नजिक) मा आएको ठूलो ढुंगा हटाएपछि बिहानदेखि यातायात सञ्चालन हुने जनाइएको छ।
नारायणगढ–मुग्लिन सडकमा साना–ठूला पहिरोका कारण पोखरा जाने सवारीसाधनका लागि आवागमन खुला गरिएको छ। बीपी राजमार्ग अन्तर्गत मान्ती, पिप्ले, दाउन्ने–कालोपुल, चार सयबेँसी, कटुन्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो तथा डाइभर्सनका कारण सडक अवरुद्ध भएकाले खुलाउने काम जारी छ। थप क्षति नभएमा भोलि बिहानसम्म केही स्थानमा सडक खुल्ने सम्भावना रहेको विभागले जनाएको छ।
सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुंगा–सल्लेरी खण्डको सोभुखोला नजिक सडक भासिएपछि अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ। मध्यपहाडी राजमार्ग अन्तर्गत घोडाबाँधे–हटिया खण्डमा पहिरोका कारण सडक अवरुद्ध छ भने हटिया–बुर्तिबाङ खण्डमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ।
कालीगण्डकी करिडोरमा बेनी–जोमसोम, पाल्पा, बागलुङ तथा नवलपरासी खण्डका विभिन्न स्थानमा पहिरो, सडक भासिने तथा पुल भत्किने समस्या देखिएको छ। पहिरो पन्छाउने काम जारी रहे पनि सम्पूर्ण सडक सुधार हुन तीन दिनभन्दा बढी समय लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
तमोर करिडोर मा खोलानाला बढेका कारण यातायात प्रभावित भएको छ। बहाव बढेमा सडक बन्द हुन सक्ने र घट्दा खुल्ने अवस्था रहेकाले आवश्यक उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–खारखोला–चुनिबोट खण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासनको निर्णयअनुसार यातायात रोकिएको हो। कर्णाली राजमार्ग अन्तर्गत गगने खोला, राँका तथा बाइसीसिमल–दहीखोला खण्डमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले पहिरो हटाउने काम भइरहेको छ।
त्यसैगरी, भालुवाङ–चन्द्रौटा–कृष्णनगर सडक मा पहिरो तथा डुबानका कारण आंशिक अवरोध रहेको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न सकिने र पहिरो तथा डुबान हटाउने काम भइरहेको विभागले जनाएको छ। बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको नासों गाउँपालिका, खोत्रोलगायतका स्थानमा पहिरोका कारण सडक प्रभावित छ र पहिरो पन्छाउन आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ।
त्रिभुवन राजपथ मा झ्याप्लेमा पहिरोका कारण एकतर्फी रूपमा मात्र यातायात सञ्चालनमा रहेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले भोलि बिहानसम्म दुईतर्फी सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ। साइलङ्दी–सन्धिखर्क–गोरापाटन सडक मा भने हालसम्म १२ स्थानमा पहिरो खसेको र पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको सडक विभागले जनाएको छ।
