केही समय घर तथा पसलबाट फोहोर बाहिर ननिकाल्न आग्रह
काठमाडौं । अविरल वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक तथा ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेकाले काठमाडौँ महानगरपालिकाले केही समय घर तथा पसलबाट फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै फोहोर संकलन तथा ढुवानी कार्य केही समय प्रभावित हुनसक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो।
महानगरपालिकाले घर, पसल, व्यवसाय तथा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ। फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोर सुरक्षित रूपमा आफ्नै घर तथा परिसरभित्र राख्न महानगरले अनुरोध गरेको छ।
त्यस्तै, सड्ने तथा नसड्ने फोहोर छुट्टाछुट्टै गरी सुरक्षित रूपमा व्यवस्थापन गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ। सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।
वर्षा तथा ल्यान्डफिल साइटको अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।

