देशका विभिन्न नदीहरूमा जल सतह बढेर आकस्मिक बाढी आउने चेतावनी
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जल सतह बढ्ने तथा विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ।
आज शुक्रबार बिहान जारी विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला तथा ती नदीका सहायक नदीहरूमा जल सतह सतर्कता तह नजिक पुगेको छ। पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली तथा तिनका सहायक नदीमा भने पानीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ।
महाशाखाका अनुसार आज र भोलि देशका अधिकांश प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। आज सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशीलगायत कोशी बेसिनका नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
त्यस्तै नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्ती नदीमा पनि आज पानीको बहाव बढ्ने पूर्वानुमान छ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य वृद्धि हुने र शनिबार असोज १० गते उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
साना नदीमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला बढी जोखिममा रहेका छन्। महाशाखाका अनुसार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
यसैगरी ताप्लेजुङदेखि बैतडीसम्मका अन्य दर्जनौँ जिल्लामा बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। शनिबार असोज १० गते आकस्मिक बाढीको उच्च जोखिम थप जिल्लामा फैलिने पूर्वानुमान गरिएको छ।
नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहने जनाइएको छ।
पर्सि असोज ११ गते पनि सातै प्रदेश भएर बहने केही साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन र पूर्वसूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ।
