ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

काठमाडौं ।  ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ । बिहीबार दिउँसो भएको आगलागीबाट करिव एक दर्जन घर तथा पसल जलिसकेको बताइए पनि यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चाँगे दोभानका प्रहरी अधिकारीका अनुसार आगो नियन्त्रणभन्दा बाहिर छ । यद्यपि फुङ्लिङ नगरपालिकाबाट गएको बारुणयन्त्र (दमकल) सहित सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी छ ।

दोभान बजारका चन्द्रप्रसाद पौडेल, डण्डु लामासहितको घर आगोले ध्वस्त बनाइसकेको उद्योग वाणिज्य सङ्घका दोभान शाखाका अध्यक्ष हरि काफ्लेले जानकारी दिनुभयो । यता आगलागीका कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।

यसअघि २०७७ सालमा पनि दोभान बजारमा भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट करिव ४० वटा बढी घर जलेर नस्ट भएका थिए । दोभान बजार मेरिङ्देन गाउँपालिका –३ खाम्लुङमा पर्छ भने मेरिङ्देन मैवाखोला र आठराइ त्रिबेणी गाउँपालिकाको सङ्गमस्थल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर