आरीघोप्टे वर्षा : आइतबारसम्म सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हिजो राति र अहिले बिहानैदेखि पानी परिरहेको छ । पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको छ ।

हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् । लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ । कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ। आज कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा मधेश र लुम्बिनीको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।

यस्तै, कोशी र बागमतीका पहाडका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेश र कोशीको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने देखिँदैन र पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ।

आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो ।

मौसम विभागले सर्वसाधारण र सरोकारवालाका लागि विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णालीमा भारी वर्षाको सम्भावना छ।

सम्भावित भारी वर्षा र हिमपातको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न र जाने तयारी गरेकाहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।

मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ। थप जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर मौसमसम्बन्धी जानकारी लिन सकिनेछ।

यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याएको छ। साथै, नेपालभरका स-साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान पनि २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालिएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरीको र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासङ्घले एक विज्ञप्ति जारी गर्दै यात्रा गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न यात्रुहरूसँग अनुरोध गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर