अन्डमान टापुमा चक्रवात बलियो बन्दै गएको मौसमविद्हरूको विश्लेषण

काठमाडौं ।  नेपाल तथा भारतका मौसम पूर्वानुमान संस्थाहरूले  यतिबेला अन्डमान टापु क्षेत्रमा विकास भएको न्यूनचापीय क्षेत्र बलियो हुँदै गएको विश्लेषण गरेन छन् ।  उक्त प्रणाली थप शक्तिशाली भएमा आज सोमबार चक्रवातमा परिणत हुन सक्ने सम्भावना छ । उक्त चक्रवातलाई “अर्नव” नामकरण गरिएको छ ।

यो प्रणाली चक्रवात बनेर नेपालसम्म असर पार्छ वा अन्डमान टापुमै सेलाएर जान्छ भन्ने कुरा ‘पर्ख र हेर’ को विषय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर अनुगमनमा रहेको र हालसम्मको प्रक्षेपणले नेपालमा समेत असर पर्ने देखिए पनि कुन स्तरको प्रभाव भन्ने सवालमा अहिले भन्न नसकिने महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अन्डमान सागर र आसपासका क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको पक्का हो । उक्त प्रणाली बलियो बन्दै पश्चिम–उत्तरपश्चिममा खसेर बङगालकाे खाडी हुँदै नेपालतिर असर पार्छ भन्ने कुरामा प्रस्ट हुन केही दिन कुर्नु पर्छ । चक्रवात बनिसकेकै छैन ।

अहिले नेपालमा त्यसले भीषण वर्षा गराउँछ भन्ने कुराको निर्क्योल गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सतर्क रहेर अवलोकन गरिरहेका छौँ, चक्रवातमा परिणत भएको खण्डमा त्यो नेपाल आउने हैन, भारतको उत्तरपश्चिम क्षेत्रमा खसेपछि त्यसले सिर्जना गरेको जलवाष्प न्यूनचापीय प्रणालीका रूपमा नेपाल आउने हो ।”

“जुन दिन त्यो चक्रवात खस्छ, त्यसपछि मात्र नेपालका कुन स्थानमा कत्तिको असर पर्न सक्छ भन्न सकिन्छ,” उहाँले भन्नुभयो । मौसम विज्ञानको सिद्धान्त अनुसार चक्रवात बनेमा, त्यो जति शक्तिशाली हुन्छ, त्यसका आधारमा कहाँसम्म प्रभाव पार्छ भन्न सकिन्छ । कहिलेकाहीँ सुरुमा ठुलो देखिए पनि उत्पत्ति भएकै ठाउँमा चक्रवात हराएर जाने गरेको देखिएको छ । लामिछानेले भन्नुभयो, “सावधान रहनु पर्छ । अहिले धानबाली भित्र्याउने बेला छ । तत्काल धान नकाट्न अनुरोध गर्छौं ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह-प्राध्यापक डा. विनोद पोखरेलका अनुसार उक्त प्रणालीको असर नेपालमा बलियो रूपमा पर्ने सम्भावना देखिएको छ । उहाँका अनुसार धेरै थरी मौसम प्रक्षेपण मोडेल अध्ययन गर्दा अहिले भारतको उत्तरपश्चिममा पर्ने पन्जाब, हरियाणा, राजस्थान र दिल्लीसम्म मनसुन प्रणाली अन्त्य भएको अवस्था छ ।

त्यसैले मनसुन जारी रहेको नेपालतिर त्यसको असर सोझिन सक्ने सम्भावना देखिएको छ; जसले यहाँ बढी वर्षा गराउन सक्छ । विभिन्न मौसमी गणना गर्ने प्रविधिले पनि पाँच सय मिलिमिटरभन्दा बढी वर्षा विभिन्न स्थानमा हुन सक्ने अनुमान गरेको छ । आउँदो बिहीबारदेखि नेपालका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना बढेकाले सतर्कतासँगै पूर्वतयारीमा जोड दिन उहाँ सुझाउनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर