काठमाडौं उपत्यकामा राति ११ बजेसम्म साझा बस पाइने

काठमाडौं ।  साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै हिजो शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो। हाल नागढुंगा–एअरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार  गरिएको हो।

हिजो  शनिबारदेखि बूढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, त्रिभुवन विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुने छन्। यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एअरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।

कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्ने छन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर