संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति जुट्न सकेन
काठमाडौं । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि प्रारम्भिक छलफल भएको हो ।
सिंहदरबारस्थित शिक्षा समितिको हलमा भएको छलफलमा प्रस्तावित समितिको सदस्य संख्या, कार्यावधि, कार्यक्षेत्र र संयोजक चयनका विषयमा बिहीवार बसेको बैठकमा सहमति जुट्न सकेन । सत्तारूढ दलका संसदीय दलका उपनेता गणेश पराजुलीको आह्वानमा बसेको बैठकमा विशेष समितिको स्वरूप र कार्यादेशबारे छलफल भएको नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।
यसअघि सर्वदलीय बैठकले विपद्सँग सम्बन्धित राहत तथा उद्धारको कामको अनुगमन, निगरानी र सरकारलाई आवश्यक सुझाव तथा फिडब्याक दिन संसदीय विशेष समिति गठनका लागि सभामुखसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि बसेको बैठकमा समितिको सदस्य संख्या र कार्यावधिबारे विभिन्न विकल्पमा छलफल भए पनि निष्कर्ष ननिस्किएको अर्यालले बताइन् । समितिको कार्यावधि एकदेखि तीन महिना वा ६ महिनासम्म राख्ने विकल्पमा छलफल भएको छ ।
प्रतिक्रिया
