प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरस्वरूप यस घटनाको सामना गर्नुपरेको समेत बताउनुभयो ।

साथै, उहाँले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताउनुभयो ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर